नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


विदाइ कार्यक्रम

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ज्यूवाट पत्रकार भेटघाट कार्यक्रमको आयोजना

                मिति २०७५/०१/१९ गतेका दिन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ज्यूवाट जिल्लामा क्रियाशील पत्रकारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गृह मन्त्रालयको निर्णय वमोजिम चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर जान लाग्नु भएका प्र. जि. अ. बस्नेतले पत्रकारहरुसँगको भेटघाटको क्रममा आफ्नो करिव डेढ वर्षको गोरखा जिल्लाको प्रशासनिक नेतृत्वका क्रममा सम्पादित कार्यहरुको संक्षिप्त समीक्षा गर्दै उक्त कार्यसम्पादनका क्रममा पत्रकारहरुले गर्नुभएको सहयोग एवं रचनात्मक सल्लाह सुझावका निमित्त धन्यवाद ज्ञापन गर्नुभएको थियो । तीनै तहको निर्वाचनको समन्वय एवं व्यवस्थापन, जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको मुअव्जा निर्धारण एवं वितरण लगायतका गतिविधिमा खेलेको भूमिका, भूकम्पद्धारा क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक एवं पुरातात्विक सम्पदा एवं निजी आवासको पुनर्निर्माण एवं शान्ति सुव्यवस्था कायम गर्ने र सेवा वितरण प्रक्रियालाई समन्वय गर्ने सवालमा आफ्नो कार्यकालमा भएका कार्यहरुप्रति प्रमुख जिल्ला अधिकारी ज्यूवाट सन्तुष्टि व्यक्त गरिएतापनि विकास आयोजनाहरुलाई गति प्रदान गर्ने सवालमा अपेक्षित उपलब्धि हुन नसेकेकोमा भने चिन्ता व्यक्त गरिएको थियो । सहभागी पत्रकारहरुवाट समेत प्रमुख जिल्ला अधिकारी ज्यूवाट जिल्लाको समग्र विकास एवं सेवा प्रवाहमा खेलेको सकरात्मक भूमिकाको उच्च प्रशंसा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ज्यूको विदाई कार्यक्रम

चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ज्यू लाई जिल्ला प्रशासन कार्यालय, गोरखाले एक कार्यक्रमका विच २०७५ बैशाख १९ गते विदाई गरेको छ । नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहनुभएका सहसचिव जितेन्द्र बस्नेत ज्यू वाट उक्त कार्यक्रममा आफ्नो कार्यकालमा कार्यसम्पादनका क्रममा सकरात्मक साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दै कर्मचारीहरुको मेहेनत, लगाव र परिश्रमकै कारण आफूवाट कार्यालयसँग सम्वन्धित नियमित एवं आकस्मिक कार्यक्रमहरु सम्पन्न गर्न सफल रहेको भनाई राख्नु भएको थियो । कार्यक्रममा सहभागी कर्मचारीहरुवाट प्रमुख जिल्ला अधिकारी ज्यूको ज्ञान, सीप र क्षमताका साथै काम प्रतिको लगाव, निष्ठा एवं सदाचारका कारण कार्यालयले प्राप्त गरेको उचाइका कारण आफूहरु समेत गौरवान्वीत भएको भनाई राख्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ज्यूको सुपरिवेक्षणमा रही कार्यसम्पादनका क्रममा आफूहरुको ज्ञान एवं सीपमा समेत सकरात्मक परिवर्तन आएको भनाई राखेका थिए । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, गोरखामा लामो समय कार्य गरी सेवा निवृत्त हुनु भएका नायब सुव्वा हरेराम श्रेष्ठको समेत विदाई गरिएको थियो । यस अघि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ज्यूको अध्यक्षतामा सम्पन्न कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी ज्यूवाट आफ्नो कार्यकाललाई सफल, सार्थक एवं उपलब्धीमूलक वनाउन सहयोग गर्नुभएकोमा कार्यालय प्रमुखहरुमार्फत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यालय प्रमुखहरुले समेत प्रमुख जिल्ला अधिकारी ज्यूको चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यकालको सफलताको कामना गर्नुभएको थियो । उक्त वैठक पश्चात कर्मचारी मिलन केन्द्र, गोरखाका तर्फवाट समेत विदाई कार्यक्रमको आयोजना गरिएको थियो । केन्द्रका अध्यक्ष रत्न प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष जीवनाथ पौडेल, सचिव नारायण प्रसाद सापकोटा लगायतले केन्द्रका प्रमुख संरक्षक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारीवाट मिलन केन्द्रका गतिविधि एवं भूमिकालाई थप व्यवस्थित तथा प्रभावकारी वनाउने एवं सेवा वितरणको समन्वयको सवालमा खेलिएको भूमिकाको उच्च प्रशंसा गर्दै उक्त भूमिकाप्रति धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

 

 

Additional Documents

Title Size Download
2059_d41d8cd98f00b204e9800998ecf8427e_1525361049_l.docx 14 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय